Bicentennial Celebration

गाेर्खा सैनिकका कारण नेपाल-वेलायत सम्बन्ध प्रगाढ’

बुधबार, ०२ चैत २०७३, Nagariknews

 

लन्डन—ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्‌घाटन गरेका छन्।

प्रमुख अतिथि ड्युक अफ ग्लस्टर दूतावास प्राङ्गणमा आइपुग्दा पन्चैबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो। उनी बेलायतको इटन कलेजमा स्वर्गीय राजा वीरेन्द्रका सहपाठी थिए। आर्किटेक्ट विषय पढेका उनी ब्रिटिश राजगद्दीका उत्तराधिकारीहरुमध्ये २४ औं स्थानमा पर्छन्।

नेपालका तीनजना प्रधानमन्त्रीहरु, जंगबहादुर राणा, चन्द्रशमसेर तथा शेरबहादुर देउवाले वेलायतको भ्रमण गरेको र ती तीनैजना आफ्ना नातेदार रहेको उनले जनाइन्। डा.आरजु कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्।

उनले राजा वीरेन्द्रको राज्यारोहणमा आफू नेपाल गएको र पदयात्रा गरेको स्मरण गरे। नेपाल एक अत्यन्त सुन्दर मुलुक भएको र नेपालीहरु अत्यन्त सहृदयी भएको बताउँदै उनले मित्रतालाई सृदृढ पार्न बेलायतले नेपाललाई सहयोग दिँदै आएको उल्लेख गरे। प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा बेलायतको पक्षबाट लडेर गोर्खाली सेनाले ब्रिटेनलाई ठूलो गुन लगाएको भन्दै उनले नेपाली बहादुरीको प्रशंसा गरे।

ड्युक अफ ग्लस्टर र सांसद देउवाले फोटो प्रदर्शनीको पनि संयुक्तरुपमा उद्‌घाटन गरेका थिए। वरिष्ठ गायिका मीरा राणाले ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीत  गाउँदा सहभागीहरुमा निकै जोश छाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी सांसद डा.आरजु देउवाले नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो मुलुक नेपाल भएको स्मरण गरिन्। उनले गोर्खाली सैनिकहरुको बलिदानले दुवै मुलुकको सम्बन्ध अझ प्रगाढ भएको बताइन्। नेपालका तीनजना प्रधानमन्त्रीहरु, जंगबहादुर राणा, चन्द्रशमसेर तथा शेरबहादुर देउवाले वेलायतको भ्रमण गरेको र ती तीनैजना आफ्ना नातेदार रहेको उनले जनाइन्। डा.आरजु कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्।

उनले नेपालको संविधानले संसदमा महिलाका लागि एकतिहाइ र स्थानीय निकायमा ४० प्रतिशत स्थान आरक्षित गरेको भन्दै नेपालको संविधान समावेशी भएको दाबी गरिन्।

कार्यक्रमको अध्यक्षता गरिरहेका राजदूत डा. दुर्गाप्रसाद सुवेदीले प्रजातन्त्र, शान्ति, सहअस्तित्व र समृद्धि नेपाल तथा बेलायत दुवै मुलुकका साझा आधारहरु रहेको बताए। उनले गोर्खा सैनिक भर्ती दुवै मुलुकबीच सम्बन्धको सबैभन्दा बलियो कडी भन्दै दुईवटा विश्वयुद्धमा झण्डै ४३,००० गोर्खालीहरुले ज्यान गुमाएको स्मरण गरे। युके नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको बताउँदै दुबै देशबीच व्यापारमा पनि विस्तार भैरहेको जानकारी दिए।

ब्रिटिश विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा बेलायतले १४ करोड पाउन्ड सहयोग प्रदान गरेको बताए। उनले दुवै देशबीचको सम्बन्ध आउँदेा २०० वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा लाखे नाच, खुकुरी नाच लगायत आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु तथा बेलयतस्थित नेपाली समाजका अगुवाहरु समारोहमा सहभागी थिए।

 

 

भूकम्पपछि नेपाललाई बेलायतको सहयोग १४ करोड पाउण्ड

– कान्तिपुर संवाददाता , लन्डन http://bit.ly/2n9F65l

 

चैत्र २, २०७३- नेपाल तथा बेलायतबीच कुटनीतिक सम्वन्ध कायम भएको २०० वर्ष पुरा भएको अवसरमा नेपाली दूतावास लन्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रम मंगलबारसांझ एक समारोहबीच भव्य उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि ड्यूक अफ ग्लस्टर दूतावास प्रांगणमा आइपुग्दा पन्चेबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र दूतावास परिवारले माला लगाइदिएर उनलाई कार्यक्रमस्थल लगेका थिए।
कार्यक्रमका प्रमुख अतिथि ड्यूक अफ ग्लस्टरले इटन कलेजमा स्वर्गीय राजा वीरेन्द्र आफ्नो सहपाठी भएको स्मरण गर्दै राजा वीरेन्द्रको राज्यारोहणमा आफू नेपाल गएर पदयात्रा गरेको स्मरण गरे । उनले नेपाल अत्यन्त सुन्दर मुलुक भएको र नेपालीहरु अत्यन्त सहृदयी भएको पनि बताए। उनले मित्रतालाई सृदृढ पार्न बेलायतले नेपाललाई सहयोग दिंदै आएको पनि बताए।

ब्रिटिश विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा बेलायतले १४ करोड पाउण्ड सहयोग प्रदान गरेको जनाए। उनले दुबै देशबीचको सम्बन्ध आउंदो २०० वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गरे ।http://bit.ly/2n9F65l

 

कार्यक्रममा बोल्दै राजदूत सुवेदीले नेपालीहरुको मनमा बेलायतको विशेष स्थान रहेको बताए। गोर्खा सैनिक भर्ती दुबै मुलुकबीच सम्बन्धको सबैभन्दा बलियो कडी हो भन्दै उनले दुईवटा विश्वयुद्धमा झण्डै ४३ हजार गोर्खालीले ज्यान गुमाएको स्मरण गरे । उनले नेपालमा पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा दूरसञ्चार जस्ता क्षेत्रमा बेलायतले गरेको सहयोग निकै महत्वपूर्ण रहेको समेत बताए।

सोही अवसरमा बोल्दै नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो मुलुक नेपाल भएको स्मरण गरिन्। उनले गोर्खाली सैनिकहरुको बलिदानले दुबै मुलुकहरुको सम्वन्ध अरु गहिरो भएको बताइन्। नेपालको संविधानमा महिला सशक्तिकरण तथा लैंगिक समानताप्रति बलियो प्रतिवद्धता रहेको बताउंदै उनले नेपालमा प्रजातन्त्र, मानव अधिकारको संरक्षण, मातृ तथा शिशु स्वास्थ्य जस्ता क्षेत्रमा बेलायतले गरेको सहयोगको प्रशंसा पनि गरिन् ।

उक्त कार्यक्रममा फोटो प्रदर्शनी र विविध संस्कृति झल्कने नाच प्रस्तुत गरिएको थियो भने वरिष्ठ गायिका मीरा राणाले स्वागत गीत गाएकी थिइन् । उक्त कार्यक्रम सञ्चालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए।

नेपाली दूतावासले नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्विशतवार्षिकी पुरा भएको उपलक्ष्यमा १४ मार्च देखि साताव्यापी विशेष समारोह आयोजना गरेको छ ।

मंगलबार समुदघाटन विशेष समारोह र नेपाली सांस्कृतिक महोत्सव भयो भने दोश्रो दिन १५ मार्चमा नेपाली पर्यटन महोत्सव, तस्विर र कला प्रदर्शनी गरिनेछ । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।

http://bit.ly/2n9F65l

 

 

लन्डनबाट ‘भिजिट नेपाल युरोप–२०१७’ अभियान शुरुवात

– नविन पाेखरेल, लन्डन

चैत्र ३, २०७३- युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ ।

बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अभियान सम्बन्धी वेबसाइट उद्घाटन गर्दै राजदूत सुवेदीले पर्वतारोहण र पदयात्राका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट गन्तव्यको रुपमा चिनिएको बताए । उनले साहसिक, धार्मिक र सांस्कृतिक पर्यटनकालागि पनि नेपाल एक विशिष्ट गन्तव्यका रुपमा रहेको उल्लेख गरे । नेपाल सरकारले आफूलाई लन्डनमा मुख्यालय रहेको वल्ड टुरिज्म अर्गनाइजेशनकालागि स्थायी प्रतिनिधि नियुक्त गरेको
बताउँदै उनले नेपालमा पर्यटन प्रवर्धन गर्न सक्दो प्रयास गर्ने पनि बताए ।

प्रमुख अतिथि सांसद शर्माले आफू चारपटक पुगिसकेको जनाउँदै नेपाल अति सुन्दर र नेपाली जनताले न्यानो स्वागतसहित अतिथीहरुलाई भगवान सरह ठान्ने बताए । शर्माले विदेशीलाई नेपाल गइदिएर पुनर्निर्माणमा सघाउन पनि आग्रह गरे ।

कार्यक्रमको शुरुमा ब्रिटेनकालागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारी तथा आयरल्याण्डका लागि प्रतिनिधि एवं नेपाल आइरिस समाज अध्यक्ष दीपेशमान शाक्यले नेपालमा पर्यटन सम्भाव्यताबारे भिडियो तथा स्लाइड शो प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा भण्डारीले नेपाल जाने पर्यटकमध्ये ब्रिटिश पर्यटकहरु चौथो स्थानमा रहेको बताए । उनले भूकम्पपछि मानिसहरुमा केही आशंका रहेपनि अहिले नेपाल एउटा सुरक्षित गन्तव्य रहेको भन्ने सन्देश फैलाउन आफूले काम गरिरहेको बताए ।

कार्यक्रममा ब्रिटेनस्थित विभिन्न ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधिहरु सहभागी भएका थिए ।

 

स्वर्गीय वीरेन्द्रका सहपाठीले भने– ‘नेपाल सुन्दर छ, घुम्न जानू’

– नवीन पोखरेल, लन्डन

 

 

चैत्र ३, २०७३- नेपाल तथा बेलायतबीच कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । तत्कालीन राजा वीरेन्द्रका सहपाठी प्रिन्स रिचार्ड (डयुक अफ ग्लस्टर) लाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रम बुधबारदेखि सुरु भएको हो ।
रिचार्डले इटन कलेजमा स्वर्गीय राजा वीरेन्द्र आफ्नो सहपाठी भएको स्मरण गर्दै उनको राज्यारोहणमा आफू नेपाल गएर पदयात्रा गरेको स्मरण गरेका थिए ।

उनले नेपाल अत्यन्त सुन्दर मुलुक भएकाले त्यहाँ घुम्न जाँदा छुट्टै आनन्द आउने उल्लेख गर्दै नेपालीहरू अत्यन्त सहृदयी भएको बताए । रिचार्डले मित्रतालाई सृदृढ पार्न बेलायतले नेपाललाई सहयोग दिँदै आएको पनि बताए ।

ब्रिटिस विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा बेलायतले १४ करोड पाउन्ड सहयोग प्रदान गरेको जनाए । उनले दुवै देशबीचको सम्बन्ध आउँदो २ सय वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राजदूत दुर्गाबहादुर सुवेदीले नेपालीहरूको मनमा बेलायतको विशेष स्थान रहेको बताए । गोर्खा सैनिक भर्ती दुवै मुलुकबीच सम्बन्धको सबभन्दा बलियो कडी हो भन्दै उनले दुइटा विश्वयुद्धमा झन्डै ४३ हजार गोर्खालीले ज्यान गुमाएको स्मरण गरे । उनले नेपालमा पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा दूरसञ्चारजस्ता क्षेत्रमा बेलायतले गरेको सहयोग निकै महत्त्वपूर्ण रहेको समेत बताए ।

कांग्रेस सांसद आरजु देउवाले नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो मुलुक बेलायत भएको स्मरण गर्दै गोर्खाली सैनिकहरूको बलिदानले दुवै मुलुकबीचको सम्बन्ध अरू गहिरो भएको बताइन् । नेपालको संविधानमा महिला सशक्तीकरण तथा लैंगिक समानताप्रति बलियो प्रतिबद्धता रहेको बताउँदै उनले नेपालमा लोकतन्त्र, मानव अधिकारको संरक्षण, मातृ तथा
शिशु स्वास्थ्यजस्ता क्षेत्रमा बेलायतले गरेको सहयोगको प्रशंसा पनि गरिन् ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बुधबार नेपाली पर्यटन महोत्सव, तस्बिर र कला प्रदर्शनी गरिएको थियो । त्यसैगरी, तेस्रो दिन नेपाल र बेलायत सम्बन्धसम्बन्धी बौद्धिक अन्तरक्रिया, चौथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पाँचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरूको तस्बिर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।

 

 

‘बेलायती प्रधानमन्त्री मेको नेपाल भ्रमण गराउन प्रयास गर्नेछु’

– नवीन पोखरेल, लन्डन


चैत्र ४, २०७३- ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा पूर्वमन्त्री सर जेराल्ड होवार्थले ब्रिटिस प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणका लागि आफूले पहल गर्ने वचन दिएका छन् । नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि होवार्थले उक्त आश्वासन दिँदै नेपाल ब्रिटेनको एक भरपर्दो मित्र रहेको बताए ।
बेलायत नेपाल सम्बन्धको २०० वर्षगाँठ समापन भइरहँदा कुनै पनि ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । दुईसय वर्षगाँठ पूरा भएपछि दूतावासले यस्तो कार्यक्रम गरेको हो । यसअघिका राजदूतले दुईसय वर्ष नहुँदै वर्षगाँठ आरम्भ गरेका थिए भने बीचमा राजदूत नै थिएनन् । अहिले राजदूतले वर्षगाँठ सकिएपछि कार्यक्रम गरिरहेका छन् ।

भूतपूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रको प्रतिनिधित्व गर्ने होवार्थले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले नगरको विकासमा ठूलो योगदान पुर्‍याएको बताए । स्कुल, कलेजमा पढ्ने भूतपूर्व गोर्खाका छोराछोरीहरुले राम्रो गरिरहेको र त्यसबाट अरु ब्रिटिस बालबालिकालाई पनि उत्प्रेरणा मिलेको उनले बताए । सर होवार्थले सन् १९६० यता ब्रिटिस सरकारले नेपाललाई झण्डै दुई अर्ब डलरबराबर सहायता दिएको स्मरण गर्दै नेपालको विकासमा सघाउन पाएकोमा खुसी व्यक्त गरे । गत बीस वर्षदेखि सांसद रहेका होवार्थ अन्तर्राष्ट्रिय सुरक्षा रणनीति हेर्ने भूतपूर्व मन्त्री पनि हुन् । ब्रिटेनले युरोपेली संघ छाड्नु पर्छ भन्ने पक्षमा मतदान गरेका होवार्थले ब्रेक्जिटपछि ब्रिटेनले नेपालजस्ता मित्रहरुसँग अरु निकट सम्बन्ध कायम राख्ने पनि बताए । उनले प्रधानमन्त्री मे ले राम्रो काम गरेको भन्दै उनको प्रशंसा समेत गरे ।

कार्यक्रममा बोल्दै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल भारत सम्बन्धबारे जान्न चाहने जोकोहीले पहिले नेपाल ब्रिटेन सम्बन्धको अध्ययन गर्नुपर्ने बताए । सुगौली सन्धि विजेता ब्रिटिस इन्डियाले नेपालमाथि थोपरेको भए पनि दुई देशबीच सन् १९२३ मा सम्पन्न सन्धिले नेपाललाई एक स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुकको रुपमा स्थापित गरेको बताए । सन् १९९० पछि पढ्न र काम गर्न बेलायत आउने नेपालीहरुको संख्या बढेको र यसले गर्दा दुई देशबीचको सम्बन्ध विकेन्द्रीकृत बन्न पुगेको उनको निचोड थियो । लन्डन विश्वकै वित्तीय केन्द्र भएकाले प्रा. सुवेदीले नेपालमा लगानी भित्र्याउन ठूला ब्रिटिस कम्पनीहरुसम्म पहुँच पुर्‍याउन नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. कृष्ण अधिकारीले लन्डनमा बसोबास गर्ने पहिलो नेपाली मोतिलाल सिंहबारे, डा. मारा मालागोडीले नेपालको संवैधानिक विकासबारे तथा सेवानिवृत्त कर्णेल जेरी बर्चले ब्रिटिस सेनामा गोर्खा भर्तीको इतिहासबारे बोलेका थिए । अन्तरक्रिया सञ्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गरेका थिए । सोही अवसरमा ब्रिटिस चित्रकार स्टेफेन किङले नेपालको लाङटाङ क्षेत्रमा गएर खिचेका तस्बिरहरुको प्रदर्शनी गरेका थिए भने अस्मिता श्रीसको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

 

 

साझा पहिलोपटक लन्डनमा

– कान्तिपुर संवाददाता , लन्डन

चैत्र ५, २०७३- कमिसनका कारण आर्थिक संकट झेलिरहेको साझा प्रकाशन बिस्तारै तंग्रिने तरखरमा छ । बन्द भइसकेको प्रकाशनलाई सरकारले तीस करोड दिएपछि सुचारु साझा यतिखेर लन्डन आइपुगेको छ । १०४ वर्षको इतिहास बोकेको साझा प्रकाशन सरकारी व्यवस्थापनमा अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक लन्डन आएको हो, तीन हजार थान पुस्तक बोकेर ।

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा शुक्रबारदेखि साझा प्रकाशनबाट प्रकाशित कृतिहरुको प्रदर्शनी शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा दुई सय शीर्षकका नयां पुराना पुस्तकसमावेश रहेको अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । बेलायत नेपाल सम्वन्ध गांसिएको दुई सय वर्ष पुगेकाले दुई सय शीर्षककै पुस्तक नेपालबाट ल्याइएको हो । यसअघि साझा प्रकाशनका कृति दक्षिण कोरियामा प्रदर्शन गरिएपनि सरकारकै निमन्त्रणामा साझा पहिलोपटक बेलायती भूमिमा पुगेको हो ।

प्रदर्शनीको पहिलो दिन करिब १२ सय पाउण्डका किताब बिकेका छन् । ‘जंगबहादुरको बेलायत यात्रा, बीपी, लक्ष्मीप्रसाद देवकोटा, पारिजात जस्ता श्रष्टाहरुको कृतिमा बढि चासो रहेछ’, अध्यक्ष शर्माले भने, ‘बेलायतमा नेपाली साहित्य उर्वर अवस्थामा रहेको महशुस गरें ।’

नेपाली भाषा साहित्य, शिक्षा, कला संस्कृतिको प्रवर्धन उद्देश्यले स्थापित साझा प्रकाशनमा भाषा साहित्यका विभिन्न विद्याका पुस्तक प्रकाशन तथा विकास गर्न उद्दत छ । यसलाई बचाउन ‘सेफ द साझा क्याम्पियने’ कमिटी गठन गर्ने योजनामा छन् महाप्रवन्धक शर्मा । ‘भाषा र संस्कृति हाम्रो पहिचान हो’, शर्माले भने, ‘विदेशमा नयां पुस्ताले नेपाली भाषा साहित्य भुलिरहेको अवस्थामा साझाले त्यसलाई ख्याल गर्दै बेलायतका नेपालीलाई सामूहिक मालामा गांस्ने प्रयास गरेको छ, साहित्यिक मनलाई एकीकृतगर्ने काम गरेको छ ।’

पुस्तक प्रदर्शनीका अवसरमा ‘बेलायतमा नेपाली कवि र कविता’ नामक पुस्तक समेत विमोचन गरियो । कार्यक्रममा दुई वटा साहित्य सम्वन्धि कार्यपत्र र तीन दर्जन बढिले कविता वाचन गरेका थिए ।

 

 

लन्डन दूतावासमा पुस्तक प्रदर्शनी

वीनेपाली, london

लन्डन । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली दूतावासले शुक्रबार लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताए ।  मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त  गरे ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त  गरे । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले साझा प्रकाशन र नेपालका साहियित्क कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताए ।

कार्यक्रमा राजदूतको सम्पादनमा प्रकाशित ‘बेलायतमा नेपाली कवि र कविता’ पुस्तकको विमोचन पनि गरिएको थियो ।

उक्त अवसरमा बेलायतका करिब ४ दर्जन बढिले कविता वाचन गरेका थिए भने डा. माइकल हट र बासु शर्माले नेपाली साहित्य सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । मध्यरातसम्म चलेको उक्त कार्यक्रममा नाटक जीगिसा समेत प्रदर्शन गरिएको थियो ।

 

बेलायतमा लगानी जुटाउने प्रयास गर्दै उद्योगमन्त्री

– नविन पाेखरेल, लन्डन, kantipur

चैत्र ७, २०७३- बेलायत भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी शनिबार लन्डन उत्रिएदेखि नै भेटघाटमा व्यस्त छन् । आइतबार लन्डन दूतावासमा उनले बेलायती व्यवसायी तथा उद्यमी र कुटनीतिज्ञसंग अबेरसम्म छलफल गरे ।

लर्ड मेयरको विशेष निम्तोमा बेलायत आएका उनले २२ तारिख ‘बेलायती व्यवसायीलाई नेपालको हाइड्रोमा लगानी अवसर’ सम्बन्धि कार्यक्रम सम्वोधन गर्नुअघि लन्डन च्याम्बर अफ कमर्स प्रतिनिधिसंग भेट गर्ने कार्यक्रम छ ।

ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले पनि मन्त्रीलाई भेट्न समय मागेका छन् । ‘मेरो बेलायत भ्रमण नेपालमा हाइड्रो र भौतिक पूर्वाधार विकासमा विदेशी लगानी आकर्षित गर्न केन्द्रित छ,’ मन्त्री जोशीले कान्तिपुरसंग भने, ‘अब देशमा आर्थिक क्रान्तिको शुरुवात भएको छ । म ग्यारेन्टी गर्छु दश वर्ष भित्र कुनैपनि नेपाली मजदुरी गर्न विदेश जानु पर्दैन ।’

सरकारले छिट्टै लगानीकर्ताहरुले अनलाइनबाटै कम्पनी दर्ता गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जोशीले जानकारी दिए । जोशीले सरकारले गएको पाँच महिना भित्रै पाँचवटा ऐन र नीतिहरु ल्याएको भन्दै कम्पनी ऐन, लगानी प्रवर्धन ऐन, विशेष आर्थिक क्षेत्र ऐन साथै बौद्धिक सम्पत्ति नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी नीतिहरुमा परिमार्जन गरिएको समेत अवगत गराए ।
नेपाल ब्रिटेन कुटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासले आइतबार आयोजना गरेको ‘नेपालमा लगानीका सम्भावना’ विषयक अन्तरक्रियामा मन्त्री जोशीले आउँदो तीन महिनाभित्र सरकारले डिजिटल हस्ताक्षरलाई मान्यता दिने र अनलाइन पेमेन्टको व्यवस्था मिलाउन लागेको जनाए ।

निवेदन दिएको एक साताभित्रै कम्पनी दर्ता गर्ने व्यवस्था मिलाउन लागिएको र यदि त्यसो गर्न नमिल्ने भए सम्बन्धित अधिकारीले लिखितरुपमा कारण खुलाउनुपर्ने व्यवस्था गर्न लागिएको उनले प्रष्टयाए ।

गैरआवासीय नेपाली तथा ब्रिटिश लगानीकर्ता र कूटनीतिज्ञहरु उपस्थित उक्त कार्यक्रममा मन्त्री जोशीले नयाँ संविधान र स्थानीय चुनावको घोषणापछि नेपाल स्थिरताको बाटोतर्फ अघि बढेको बताउंदै नेपाल बदलिइसकेको दाबी गरे ।

‘गएको दश वर्षदेखि रोकिएका ऐन–नियम हामीले बदलेका छौं । २५ वर्षअघि पहिलो पुस्ताका सुधारहरु गरिएकामा अहिले हामीले दोश्रो पुस्ताका सुधारहरु शुरु गरेका छौं,’ उनले भने ।

गत मार्च पहिलो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा नेपालमा साढे १३ अर्ब डलर बराबरको लगानी गर्ने आसयपत्रहरुमा हस्ताक्षर गरिएको जनाउँदै उनले सरकारले त्यसको अनुगमन शुरु गरिसकेको बताए । सम्मेलनमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरुले विदेशी लगानीलाई बढावा दिने प्रतिवद्धता जनाएको बताउँदै मन्त्री जोशीले भने, ‘तपाईंहरु कर तिर्नोस्, रोजगारी दिनोस् र ढुक्क भएर आफ्नो मुनाफा फिर्ता लैजानोस् । तपाईंहरुलाई जस्तोसुकै सहयोग गर्न पनि नेपाल सरकार तयार छ ।’

विश्व बैंकले दक्षिण एसियामा व्यापार गर्न नेपाल दोश्रो सजिलो मुलुक भएको बताएको जनाउंदै जोशीले अब आफूहरुले जलविद्युत, रेलवे, सडक लगायतका क्षेत्रमा करोडौं डलर बराबरका ठूला लगानी भित्रयाउने कुरामा जोड दिएको बताए । ‘अहिले हाम्रो पुरै ध्यान लगानी भित्र्याउने र लगानीकर्ताहरुलाई लगानी गर्न कसरी सजिलो बनाउने भन्ने कुरामा केन्द्रित छ,’ उनले भने ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ब्रिटेन लगायत विदेशी मुलुकहरुबाट प्रत्यक्ष लगानी र व्यापार वृद्धि गर्न सरकारले नीतिगत तथा व्यावहारिक थुप्रै निर्णय लिएको बताए । ब्रिटेन नेपालको एक प्रमुख प्रमुख व्यापारिक तथा लगानी साझेदार रहेको बताउँदै राजदूतले ब्रिटिश लगानीकर्ताहरुलाई आवश्यक जानकारी र समन्वय गर्न दूतावास सधैं तयार रहेको बताए ।

सो अवसरमा गैरआवासीय नेपाली संघका युरोप संयोजक कुल आचार्य तथा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जलस्रोत, पर्यटन, स्वास्थ्य, पूर्वाधार जस्ता क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका थिए ।

आचार्यले गैरआवासीय नेपालीहरुले नेपालमा बैंकिङ लगायत विभिन्न क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताउँदै सरकारलाई लगानीका लागि सजिलो वातावरण बनाइदिन आग्रह गरे ।

त्यस्तै रेमण्ड डेभिस तथा पल नाशले नेपालमा पर्यटन क्षेत्रमा लगानीका सम्भावनाबारे र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेल तथा मानार्थ प्रमुख कार्यकारी रिचार्ड पेलीले प्रस्तुति दिएका थिए । कँडेलले एकसय वर्ष अघि फर्पिङमा ब्रिटिश सहायताबाट देशकै पहिलो जलविद्युत गृह बनेको स्मरण गर्दै नेपालमा जलविद्युतमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरुलाई आग्रह गरे ।

 

 

बेलायती राजकुमारले यसरी सम्झिए नेपाल भ्रमणको अविष्मरणीय क्षण

– नवीन पोखरेल, लन्डन, kantipur

 

 

चैत्र ८, २०७३- बेलायती राजकुमार ह्यारी ठीक वर्ष दिनअघि पहिलो पटक नेपाल भ्रमणमा थिए । सोमबार अपरान्ह नेपाल भ्रमण गर्दा स्मृतिमा कैद भएका रोमाञ्चकारी र अविष्मरणीय क्षण साट्न उत्साहित देखिए ह्यारी । गत वर्ष नेपालमा पाएको अतिथि सत्कारको खुलेर प्रशंसा गरे उनले । बेलायती महारानीको शुभकामना सन्देश दिँदै मालामा सजिएका ह्यारीले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताए ।
ठिक एक वर्ष अघि म नेपाल पुगेको थिएँ । मैले भेटेका सबैजनाले मलाई दिएको न्यानो स्वागत र माया, खासगरी मंगली तामाङ र उनको परिवार जसको घरमा म बसेँ, त्यो म कहिल्यै बिर्सने छैन्’, उनले अतित सम्झिए ।

बेलायत नेपालबीच कुटनीतिक सम्बन्ध कायम भएको दुईसय वर्ष पुरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन ब्रिटिश राजपरिवारका सदस्य राजकुमार ह्यारी अतितमा फर्कंदै थिए ।

गत वर्ष मार्चमा नेपाल पुगेका राजकुमार ह्यारीले उत्तरी गोर्खाको तत्कालीन लापु गाउँ विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए।

बर्दिया राष्ट्रिय निकुन्जको पनि भ्रमण गरेका राजकुमार ह्यारीले उक्त निकुन्ज समुदायलाई सशक्त बनाएर कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुरामा संसारमै उदाहरणीय भएको बताए।

भूकम्पपछि ब्रिटिश तथा अन्य निकायबाट नेपालमा गरिएको राहत कार्यको प्रशंसा गर्दैह्यारीले पुनर्निर्माणको काममा समय लाग्ने बताए। उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल भ्रमणकाक्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे ।
आफ्ना पिता चार्ल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभएपनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनले बताए।

राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरे। ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर पिरो खसीको मासु खाएको क्षण स्मरणीय भएको बताए । उनले आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंग पनि उठान गरे । ह्यारीले गत हप्ता आफ्ना बाबुको साथ बहादुर गोर्खा जवानहरुलाई राजदरबारमा पदक दिएको समेत सम्झिए ।

ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले बताएका थिए।

ह्यारीले नेपालमा किशोरी तथा महिलाहरुको सशक्तिकरण तथा बाल विवाह एवं महिला हिंसा विरुद्ध कामहरु भइरहेका सुन्दा आफूलाई खुसी लागेको बताए ।

राजकुमार ह्यारीले आउँदा कैयौं शताब्दीहरुसम्म पनि नेपाल र ब्रिटेनबीच निकट सम्बन्ध तथा मित्रता कायम रहिरहने विश्वास व्यक्त गरे । आफूले पोहोर साल लगाएको टिका मेटिन नपाउँदै फेरि नेपाल पुग्ने आफ्नो इच्छा रहेको पनि उनले जनाएका थिए।

राजकुमार ह्यारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए । उनले दूतावास हलमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्ने १३ भूपू गोर्खाहरुको तस्वीर अनावरण समेत गरे ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।

राजदूत डा. दुर्गाबहादुर सुवेदीले राजकुमार ह्यारीको उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार, सरकार र जनताको सदभावना र सम्मानको भावना प्रतिविम्बित गर्ने बताए । उनले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍यायाएको योगदानको प्रशंसा समेत गरेका थिए ।

उक्त अवसरमा राजकुमार ह्यारीको स्वागतार्थ गोर्खा ब्रिगेड व्याण्डबाट संगीत प्रस्तुत गर्नुका साथै गोर्खा सैनिकहरुले खुकुरी नाच देखाएका थिए । साथै नेपालको हिमाल, पहाड र तराइ मधेसको संस्कृति झल्कने विभिन्न नेपाली नृत्य समेत प्रस्तुत गरिए ।

उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो ।

लन्डनस्थित नेपाली दूतावासले गत १४ मार्च देखि साताव्यापी कार्यक्रम अन्तर्गत पुस्तक, फोटो तथा चित्रकला प्रदर्शनी, व्यापार तथा लगानी सम्मेलन, नेपाली कला, साहित्य र संगीत महोत्सव, बेलायत नेपाल सम्बन्धबारे बौद्धिक अन्तर्क्रिया जस्ता गतिविधि आयोजना गरेको थियो ।

 

नेपाल सम्झेर राजकुमार ह्यारी भावुक

बुधबार, ०९ चैत २०७३, १६ : ०५ |  चिरन शर्मा  |  @Chiran_London, Nagarik news

 

लन्डन—नेपाल भ्रमण गरेर फर्किएको एक वर्षपछि वेलायती राजकुमार ह्यारीले नेपालको गाउँले जीवन तथा भूकम्पपछिको पुनःनिर्माण स्मरण गरेका छन्। नेपाल-वेलायत सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष समारोहमा बोल्दै उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने बताए।

‘ठिक एक वर्ष अघि म नेपाल पुगेको थिएँ। मैले भेटेका सबैजनाले मलाईन्यानो स्वागत र माया प्रदान गर्नुभयो।खासगरी मंगली तामाङ र उनको परिवार जसको घरमा म बसें। त्यो म कहिल्यै बिर्सने छैन’, दूतावासको कार्यक्रममा उपस्थित भएका उनले भने।

गत वर्ष नेपाल आएका उनले लेउरानी गाउँकी ८६ वर्षीया मंगली तामाङलाई सम्झिएका थिए। ‘ठिक एक वर्ष अघि म नेपाल पुगेको थिएँ। मैले भेटेका सबैजनाले मलाईन्यानो स्वागत र माया प्रदान गर्नुभयो।खासगरी मंगली तामाङ र उनको परिवार जसको घरमा म बसें। त्यो म कहिल्यै बिर्सने छैन’, दूतावासको कार्यक्रममा उपस्थित भएका उनले भने।

गत मार्च महिनामा नेपाल पुगेका राजकुमार ह्यारीले उत्तरी गोर्खाको लापु गाउँस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा पनि सघाएका थिए।

बर्दिया राष्ट्रिय निकुन्जको भ्रमण गरेका राजकुमार ह्यारीले सो निकुन्ज समुदायलाई सशक्त बनाएर कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुरामा संसारमै एक उदाहरण भएको बताए।

नेपाल भ्रमणको क्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै उनले गोर्खा सैनिकहरुको जस्तो दृढ चरित्र कसरी बन्छ भन्ने कुरा आफुले बुझ्ने मौका पाएको बताए।

अफगानिस्तानमा गोर्खा सैनिकहरुसँग रहँदा उनीहरुले पकाएको खसीको पीरो झोल पिउँदा जाडो दिनमा पनि पसिना छुटेको उनले बताउँदा सहभागी हाँसेका थिए।

आफ्ना पिताले जस्तै ब्रिगेड अफ गुर्खाजसँग चालिस वर्ष लामो सम्बन्ध नभए पनि आफूले गोर्खा सैनिकसँगको सम्बन्धबाट गर्व महसुस गर्ने गरेको उनले बताए। राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र पेशाप्रति निष्ठाको प्रशंसा पनि गरे।

राजकुमार ह्यारीले दूतावासभित्र ब्रिटिश सेनाको सर्वोच्च सम्मान भिक्टोरिया क्रसबाट सम्मानित १३ जना गोर्खा सैनिक तथा अधिकृतहरुको तस्वीरको अनावरण पनि गरेका थिए।

सो कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए भने उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ संविधान पछि नेपाल स्थायित्वतर्फ अगाडि बढेको र सरकारले छिट्टै तीन तहको चुनाव गराउने तयारी गरिरहेको बताएका थिए।

कार्यकममा ब्रिटिश रक्षा मन्त्री मार्क लाङ्कास्टर, विभिन्न मुलुकका राजदूतहरु तथा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।