नेपालको राष्ट्रिय क्रिकेट टोली, एमसिसी र नेदरल्याण्ड्सबीच २९ जुलाई २०१८मा लर्डस मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन गर्न नेपाली राजदूतावास, लण्डनको अनुरोध

नेपालको राष्ट्रिय क्रिकेट टोली, एमसिसी नेदरल्याण्ड्सबीच २९ जुलाई २०१८मा लर्डस मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन गर्न नेपाली राजदूतावास, लण्डनको अनुरोध |

 

नेपालको राष्ट्रिय टोली, एमसिसी र नेदरल्याण्ड्सबीच यही २९ जुलाई २०१८ मा लण्डनको ऐतिहाँसिक लर्ड क्रिकेट मैदानमा क्रिकेट खेल हुन गैरहेको छ । नेपाली, बेलायती र अन्य विदेशी दर्शकहरुको वृहत सहभागितामा नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई हौसला प्रदान गर्न सकिने र नेपालको क्रिकेट खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी नेपालको राष्ट्रिय पहिचान र प्रतिष्ठालाई अभिवृद्धि गर्न सकिने व्यहोरा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । उक्त दिनको खेलमा दर्शक सहभागिता वृद्धि गरी क्रिकेट खेललाई कसरी भव्य र सभ्य बनाउने भन्ने उद्येश्यले यस राजदूतावासमा यही असार १ गते लण्डनमा क्रियाशील विभिन्न नेपाली संघ, संस्था र समाजका पदाधिकारीज्यूहरु तथा प्रतिनिधि सम्मिलित छलफल कार्यक्रममा महामहिम राजदूत डा=दुर्गा बहादुर सुवेदीज्यूबाट आ—आफ्नो संघ, संस्था र समाजहरु, परिवार, नातेदार एवम् मित्रहरुलाई लर्ड मैदानमा आयोजना हुन गैरहेको क्रिकेट खेलमा अत्यधिक संख्यामा सहभागिता जनाउने वातावरण मिलाउन हार्दिक अनुरोध गर्नुभएको थियो ।

संयुक्त अधिराज्य, आयरल्याण्ड, माल्टा र अन्य सम्पूर्ण युरोपेली देशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नेपाल र नेपालीका मित्रहरु, सम्पूर्ण संघसंस्था र समाजहरुलाई नेपालको राष्ट्रिय टोली, एमसिसी र नेदरल्याण्डबीच यही २९ जुलाई २०१८ मा लण्डनको ऐतिहाँसिक लर्ड क्रिकेट मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई खेलाडीहरुलाई उच्च हौसला प्रदान गर्नको लागि यस राजदूतावास हार्दिक अनुरोध गर्दछ । खेल हेर्नको लागि टिकट अनलाइन https://tickets.lords.org/ बाट खरिद गर्न सकिने र टिकटको मूल्य व्यस्क को लागि १७ पाउण्ड, जेष्ठ नागरिकको लागि ८ पाउण्ड ५० सेन्ट र बालबालिकाहरुका लागि ५ पाउण्ड रहेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।

 

 

 

 

Published on 18 Jun 2018