नेपालको राष्ट्रिय क्रिकेट टोली, एमसिसी र नेदरल्याण्ड्सबीच २९ जुलाई २०१८मा लर्डस मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई नेपाली राष्ट्रिय टोलीलाई प्रोत्साहन गर्न नेपाली राजदूतावास, लण्डनको अनुरोध |
नेपालको राष्ट्रिय टोली, एमसिसी र नेदरल्याण्ड्सबीच यही २९ जुलाई २०१८ मा लण्डनको ऐतिहाँसिक लर्ड क्रिकेट मैदानमा क्रिकेट खेल हुन गैरहेको छ । नेपाली, बेलायती र अन्य विदेशी दर्शकहरुको वृहत सहभागितामा नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई हौसला प्रदान गर्न सकिने र नेपालको क्रिकेट खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गरी नेपालको राष्ट्रिय पहिचान र प्रतिष्ठालाई अभिवृद्धि गर्न सकिने व्यहोरा यहाँहरु सबै जानकार नै हुनुहुन्छ । उक्त दिनको खेलमा दर्शक सहभागिता वृद्धि गरी क्रिकेट खेललाई कसरी भव्य र सभ्य बनाउने भन्ने उद्येश्यले यस राजदूतावासमा यही असार १ गते लण्डनमा क्रियाशील विभिन्न नेपाली संघ, संस्था र समाजका पदाधिकारीज्यूहरु तथा प्रतिनिधि सम्मिलित छलफल कार्यक्रममा महामहिम राजदूत डा=दुर्गा बहादुर सुवेदीज्यूबाट आ—आफ्नो संघ, संस्था र समाजहरु, परिवार, नातेदार एवम् मित्रहरुलाई लर्ड मैदानमा आयोजना हुन गैरहेको क्रिकेट खेलमा अत्यधिक संख्यामा सहभागिता जनाउने वातावरण मिलाउन हार्दिक अनुरोध गर्नुभएको थियो ।
संयुक्त अधिराज्य, आयरल्याण्ड, माल्टा र अन्य सम्पूर्ण युरोपेली देशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नेपाल र नेपालीका मित्रहरु, सम्पूर्ण संघसंस्था र समाजहरुलाई नेपालको राष्ट्रिय टोली, एमसिसी र नेदरल्याण्डबीच यही २९ जुलाई २०१८ मा लण्डनको ऐतिहाँसिक लर्ड क्रिकेट मैदानमा आयोजना हुने क्रिकेट खेलमा सहभागी भई खेलाडीहरुलाई उच्च हौसला प्रदान गर्नको लागि यस राजदूतावास हार्दिक अनुरोध गर्दछ । खेल हेर्नको लागि टिकट अनलाइन https://tickets.lords.org/ बाट खरिद गर्न सकिने र टिकटको मूल्य व्यस्क को लागि १७ पाउण्ड, जेष्ठ नागरिकको लागि ८ पाउण्ड ५० सेन्ट र बालबालिकाहरुका लागि ५ पाउण्ड रहेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।
Published on 18 Jun 2018