Important Notice

A.D.:

Nepal Samvat: 1146 POHELATHWA TRAYODASHI - 13

सूचना

nullसूचना

विगत केही समयदेखी संयुक्त अधिराज्यमा कामको लागि स्पोन्सरसिप (Sponsorship) खोजिदिने बहानामा उल्लेख्य संख्यामा नेपालीहरु ठगीमा परेका गुनासा यस राजदूतावासमा प्राप्त भएका छन्। यसरी ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य आउन चाहनेहरु छन् भने संयुक्त अधिराज्यमा नै रहंदै आएका नेपालीहरु पनि यस किसिमको समस्यामा परेको भेटिएको छ। ठगी गर्नेहरु कतिपय नेपाली मूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरु मार्फत् तेस्रो मुलुकका व्यक्तिहरुसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको पनि गुनासो प्राप्त भएको छ। यस किसिमको संगठित अपराधमा धेरै व्यक्तिहरु प्रत्यक्ष/परोक्ष रुपमा संलग्न रहने, उनीहरुले आफ्नो सक्कल पहिचान लुकाउने र फरक नामबाट आफूलाई चिनाउने, घर/बासस्थानको ठेगाना नदिने/नखुलाउने, सम्पर्क नम्बरहरु परिवर्तन गरिरहने र रकम ठगी गरी सम्पर्क विहीन हुने गर्दछन्। संयुक्त अधिराज्यको कानूनी कारवाहीबाट बच्न र ठगीको प्रमाण नछोड्नका लागि उनीहरुले नेपालमा नै रकम असुल गर्ने तथा संयुक्त अधिराज्यमा पनि बैंक मार्फत् कारोबार गर्ने नगरेको भेटिएको छ। यसर्थ, कामको लागि स्पोन्सरसिप खोजिदिने वा वर्क भिसा (Work Visa) उपलब्ध गराईदिने नाममा हुने गरेका यस किसिमका ठगी बाट बच्न व्यक्ति आफैं सचेत रहनु हुन अनुरोध छ। यस किसिमका अपराधहरु नेपाल र संयुक्त अधिराज्य दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्यामा परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा संयुक्त अधिराज्यमा रहेका स्थानीय प्रहरी तथा National Anti Fraud Network (Action Fraud) UK मा उजुरी गर्नुहुन समेत अनुरोध छ। समस्यामा परेका व्यक्तिहरुले यस राजदूतावासको इमेल info@nepembassy.org.uk र मोबाइल नं. +४४-७४०४९३९२७४ मा सम्पर्क गर्नु हुन समेत अनुरोध छ।

नेपाली राजदूतावास, लण्डन
३१ डिसेम्बर २०२५